अनुराधा ; शायद 20 बर्ष अगाडि हाम्रो घरमा भित्रीएकी थिईन । त्यसताका हाम्रो आफ्नै घर थिएन । भाडामा बस्नु पर्थ्यो । त्यसपछि कयौं कोठा परिवर्तन भयो । अनुराधाले विभिन्न र्याकमा सुसज्जित हुने मौका पाइन् । मलाई याद भए देखि पत्रीकाको गातामा सुसज्जित । गातामा एउटी नारी , सायद अनुराधाको स्वरुप बनेर बसेकी होलिन। हुन त उनी कुनै सौन्दर्य सामाग्रीको बिज्ञापन गर्न बसेकी हुन् तर मैले तिनलाई सधैं अनुराधाको स्वरुप्मा देखें । लकडाउनले फुर्सद बनाएको मलाई पुस्तक हरु मिलाउन अभिप्रेरित गर्यो अनि निकालें त्यही गातामा सज्जिएकी अनुराधा । अनुराधा को हुन् थाह थिएन । करिब एउटा सिनेमा हेरिसक्ने समयमा अनुराधा पढेर सक्काएं ठ्याक्कै एउटा मुभी हेरें जस्तो । बिजय मल्लद्वारा लिखित यो किताब 15-20 बर्ष देखि कहिले यो कुना कहिले त्यो कुनामा पल्टिरहेको थियो । अनुराधा आफ्नै अगाडि भए पनि चिन्न पाइरहेकी थिइन कथामा जस्तै । मथिङ्गल हल्लिरहेको छ । समाजका ती तमाम अनुराधाहरु देखिरहेछु जो सामाजिक जाल्झेल र बन्धनको सिकार हुन पुगेका छन् । उ बेलाको समाज र अहिलेको समाज खासै बद्लिएको रहेनछ । यो या त्यो अवस्थामा अनुराधाहरु आफ्नो सपना र चाहानालाई दाग्बत्ती दिएर समाजले चित्रीत गर्ने बहुलाइ हुन पुगेका छन् । बिभिन्न किसिमका बहुलाइ । अचेल लेख्दा पोलिटिकल्ली करेक्ट हुनु पर्छ । बहुलाई लेख्न पाइन्छ या पाइन्न मलाई थाह छैन तर समाज कहिलै पोलिटिकल्ली करेक्ट हुन खोज्दैन । बाहिर नदेखाउला तर त्यस्ता शब्द हरु नामेट भएर गएका छैनन् । आखिर समाजले चलाउने शब्द मैले किन नचलाउने ? मैले देखेकै यहि समाज त हो । अँ समाजका कुरा चलाउँदै गर्दा समाजले तोकिदिएका “बहुलाइ” हरु याद आउँछन् ।
अनुराधा , एक सुन्दर, स्वभिमानी र आँटीली युवतीलाई आफ्नै पारिवारका सदस्यहरुले नराम्रोसँग परिबन्धमा फसाउँन सफल भए । पितृसत्ता, शक्ति र रवाफको नराम्रो परिबन्धमा परेकी अनुराधाको आफ्नो आत्म्स्वभिमान र आंट र जोशलाई बदलाको भावनाले शिथिल बनाएको छ । सम्पती र शक्तिको उन्मादले मान्छेलाइ कतिसम्म गिराउँछ जस्ले आफू मात्र सर्वैसर्वा अनि नारीलाई बस्तुको रुपमा हेर्छ । नारी पात्रलाई प्रधान मानिएर लेखिएको रचना भएपनी यहाँ देखाइएका दुई प्रमुख पुरुष मात्र समाजका द्वेध चरित्रको चित्रण हो । एउटा पुरुष ( रत्नमान ) जो आफ्नो शक्तीको भरमा अनुराधालाइ पाउन खोज्छ । अपहरण र धम्कीको सैलीमा आफुलाई घृणा गर्ने नारीलाई आफ्नो घरमा प्रवेश गराउँछ र बहुलाउन बाध्य बनाउँछ । अर्को पुरुष जो अन्जान युवतीलाई आफ्नो छाहरी दिन्छ र बहुलाई युवतीको साहरा बन्न कोसिस गर्छ ।
प्रेम के हो ? सम्बन्ध के हो ? सम्बन्धको परिभाषा के हो? अनुराधालाई आफ्नो शक्तिको भरमा प्राप्त गर्न खोज्नु प्रेम हो कि आफुले पाएको अपमानको बदला हो? भनिन्छ प्रेम र युद्दमा सबै कुरा जायज हुन्छ तर रत्नमान ( पहिलो पुरुष ) को अनुराधा प्रतिको प्रेम अनुराधाको नजरमा युद्ध किन सावित भयो? आफ्नो इज्जत र रवाफ जोगाउनैको लागी किन अनुराधा?लाई मानसिक रूपमा बिक्षिप्त बनाइयो ? एउटा कलेज पढ्दै गरेकी जवान युवतीको मनोदशा किन कसैले बुझ्न सकेन । अरुले त सकेन सकेन तर आफ्नै आमाले झुक्क्याएर कलेजबाट फिर्ता लाएर नराम्रो सँग भुँमरीमा पारिदिनु आमाको बाध्यता थियो या समाजले बुनिदिएको परिस्थितीको उपज थियो । बिहे नै स्वीकार नगरेकी आफ्नी छोरीलाई त्यसरी नभएको बिबाहको आधारमा बिबाहिता बनाउनु शक्ति सामु देखिएको निरिहता हो? यी विभिन्न प्रश्नले अझै दिमाग भाउन्न भैरहेको छ ।
” म जाल फाँडेर मुक्त हुन चाहन्थें र आफ्नो नक्कली स्वरुपलाई बद्लेर सक्कली अनुराधा हुन चाहान्थें जसलाई कुनै किसिमको मानसिक दुख नहोस्, पीडा नहोस् , जसमा बिक्रीती नहोस् , कसैलाई मार्ने हत्या गर्ने छट्पटी नहोस , जो मनुश्यबाट पतित भएर राक्षसनी भइरहेकी नहोश । ”
यी वाक्यले भनिरहेको अनुराधाको मनोदशा ले बिक्षिप्त बनायो । यो वाक्य पढिरहँदा एसिड आक्रमण बाट घाइते मुस्कानहरु सम्झिएं, बलात्कारका सिकार भएका निर्मलाहरु सम्झिएं । आफ्नै परिवारका सदस्यद्वारा हत्या हुन पुगेकी बुहारी सम्झिएं । दिमाग रननन भएर आयो । बद्लाको भावना कति कठोर बनेर बस्ने रहेछ । एक नारीको बिक्षिप्त मनोदशा कस्ले बुझ्ने? समाजले , समाजका नारीहरुले कि उ आँफैले? अनि आँफैलाई सम्झिएं । म अनुराधाको अवस्थामा भएको भए के गर्थें ? मलाई थाह नै नदिइकन मेरो स्वयेम्बर रचिएको भए के अनुराधा जस्तै क्रान्ती गरेर माला च्यातेर थुक्ने हिम्मत आउँथ्यो ? के अहिलेका 21 औं शताब्दीका अनुराधाहरुलाई त्यो हिम्मत आउँछ? अनुराधाको परिस्थितीमा भएका कयौं नारीहरु बद्लाको भावना लिएर बाँच्न सक्दैनन् । बरु आत्महत्याको बाटो रोज्छन । यो बिक्षिप्त मनोदशाको बिचमा अन्तिम उपाय नै सायद यहि आउँछ होला । कयौं बर्ष अगाडि लेखिएको पुस्तक भएपनी समाजिक परिवेस र नारीहरुले भोग्नुपर्ने यथार्थ अझै पनि उस्तै देखेर भन्न मन लाग्छ , अनुराधा बहुलाई हैन हाम्रो समाज बहुला रहेछ जस्ले अहिले सम्म पनि आफ्नो सोचाई र स्थिती त्याग गर्न सकेको छैन ।