सानैं थिएं ! दुब्ली पातली सानो ज्यान कि आफ्नु उमेरका भन्दा निकै सानी देखिन्थें । ठुली हुन रहर लाग्थ्यो । आफ्नै उमेरका अरु साथीहरु आफू भन्दा ठुला हुँदा, कसैले साथीहरुसंग हिड्दा उनीहरुको बैनी जस्तो भनेर भनिदिँदा आफैंलाई हिनता महसुस हुन्थ्यो । कसैले एक पाउ कि छौ भन्दै जिस्काउथ्यें कसैले २फिटे भनेर जिस्काउँथें । अलिक बालापनमा त चित्त दुख्थ्यो तर उमेर बढ्दै जाँदा खुसी लाग्न थालेको थियो । उमेर बढेपनी सानो कद हुनाले उमेर कम जस्तो देखिन्छ भनेर । अरुको जिस्काइमा आँफै रमाउन थालेकिं थिएं । आँफैले आंफैलाइ दुब्लोपनामा एसेप्ट गर्न थालेकिं थिएं । बजारमा लुगा किन्न जाँदा आफ्नो साइजको लुगा पाइंदैन थियो । स्मल साइज पनि ठूलो हुन्थ्यो । म पनि कुनै बेला मोटाउँला र ज्यानलाई ठिक्क हुने लुगा लगाउँला भनेर कल्पना गर्न सक्ने कुरै थिएन । त्यो बेला “बडी सेमिङ “के हो थाह थिएन । जिस्काउनेले धेरै नाम दिएर दुब्ली पातली शव्दको हुन सक्ने जति पर्यायवाची शब्द लिएर जिस्काउँथें ।
अचेल एक पाउ बाट किलो मा ट्रान्सफर भएकी छु । आफ्नो कल्पना भन्दा बाहिरको आफ्नै शरीर पाएकी छु । अहिले म पनि ठुली भएकी छु । हाइट नबढे पनि ज्यान बढेर ठूलो भएको छ । सानी फुच्चीको क्याटेगोरीबाट उक्लिसकेकी छु । उ बेलाको रहर कती बोझिलो हुने रहेछ बुझ्दै छु । जिन्दगीको परिवर्तनलाई स्विकार्दै अगाडि बढ्दै छु ।