भखर कि सानी फुच्चीले के नै पो गर्न सक्छे र?न अनुभव छ, न त कुनै क्षमता !! यस्तो स्थानमा काम गर्न त अलिक पाको अनुभवी मान्छे चाहिन्छ नि ! हिजो भरखर आएकी फुच्चीले हामीलाई सिकाउने , यो कपाल त्यसै फुलेको हैन नि । बिहे भैसकेको रहेछ अझ बच्चा पनि छ होला पारिवारिक जिम्मेवारी पनि होला बिचरासँग फुर्सद कहाँ हुन्छ र जिम्मेवारी सम्हाल्ने !! महिलालाई जिम्मेवारी दिएर के गर्नु घर परिवार भन्छन्, छोराछोरी भन्छन् काम कति बेला गर्न भ्याउँछन् र? महिलाहरू आफैँ सक्षम छैनन्, कार्यक्रमको लागि खोजेकै हो, के गर्नु महिला विज्ञ नै पाइएन । ठुलो कुरा गरेर मात्र हुँदैन नि !
यी र यस्ता विभिन्न बाहानमा होच्याउने शब्द बारम्बार प्रहार भइरहन्छन एक आम नेपाली महिलालाई ! अनि प्रहार गर्ने तिनै पितृसत्ताका पहरेदारहरू । पितृ सत्ताका राजकुमार र राजकुमारीहरू जसलाई नारीको क्षमतामा सधैँ प्रश्न चिन्ह उठ्छ । उनीहरूलाई फेमिनिजम र फेमिनिस्ट महिला मन पर्दैन । उनीहरू ती प्राणीहरू हुन जो सधैँ महिलाको स्थान पुरुषको भन्दा तल नै देख्न चाहान्छन् । नारीवादले महिला र पुरुषलाई बराबरको दर्जा देऊ भन्छ यिनीहरू नारीवादको गलत व्याख्या गरेर पुरुषलाई गाली गर्ने उच्छृंखल महिलाहरू भन्छन् । पितृ सत्ताका पहरेदारहरू महिलाले लाउने लुगा, खाने कुरा, साथी सङ्गी आदिको खुब चियो चर्चो गर्छन् अनि प्याच्च भन्न बेर लगाउँदैनन् । पितृ सत्ताका पहरेदारहरू नारीवाद , महिला हिंसा शोषण इत्यादिको ठुलो ठुलो नारा लगाउँछन् तर तीनै फोरममा नारीको आवाज राख्ने स्थान दिंदैनन। घरमा म कमाइहाल्छु नि तिमी घर परिवार सम्हाल न भनेर तिनै आफ्ना श्रीमतीलाई फकाउँछन् । उनीहरूको नजरमा क्षमतावान् नारी कोही पनि छैन । कानुनले तोकिदिएको ३३% पनि के गर्नु कानुनले तोकिदिएको हुनाले महिला सहभागिता गराउनुपरेको हो भनेर चिन्तित मुद्रामा कुरा गर्छन् । यस्तो लाग्छ कि कानुनले नतोकेको भए महिलाहरूलाई यहाँ किन आउन दिन्थे र भन्ने भित्री मनसाय राख्छन् । दैनिक यस्ता विभिन्न भनाइ र छेडखानीलाई सहँदै नारीहरू आफ्नो जिम्मेवारी पूरा गर्न तम्तयार भएर लागि पर्छन् ।
पितृसत्ताका पहरेदारहरू पितृसत्तात्मक प्रतीकको रूपमा रहेको सिन्दूर पोते आदि गहना नलगाउने नारीलाई शङ्का र घृणाको भावले हेर्छन् । उनीहरूको लागि पुरुषको स्वतन्त्रता मात्र स्वतन्त्रता नारीको आफ्नो छनौट वा स्वतन्त्रता पुरुषकै अधीनमा हुनुपर्छ भन्ने लाग्छ । समता र समानताको मूल्य मान्यतालाई यी पहरेदारले डस्टबिनमा हुत्याइदिएका हुन्छन अनि कसैले त्यो थोत्रो डस्टबिन झिकेर समता र समानताको मूल्य मान्यताको कुरा गर्यो भने छाडा, समाज भाँड्ने , जान्ने भएको/की, आदि इत्यादिले सराप्छन् । आखिर नारीले कतिन्जेल सहने ? यी पहरेदारहरूसँग कतिन्जेल लड्ने ? विभिन्न खाले प्रश्नै प्रश्नको झटारो बाट कतिन्जेल जोगिने ?
समय परिवर्तनशील छ ! हिजोको आमाहरुले गरेको सङ्घर्ष आज छोरीहरूले नपर्ला र आमाहरूले चुनौती दिएर बाटो अलिकता सजिलो बनाइदिएका छन् । तर छोरीहरूको आफ्नो छुट्टै किसिमको सङ्घर्ष छ । आमाहरूले घरको चार भित्ता बाट निस्कनै सङ्घर्ष गरे भने अहिलेका छोरीहरू घर बाहिर समाजमा आफूलाई स्थापित गराउन , आफ्नो सक्षमतालाई प्रमाणित गर्न सङ्घर्षरत छन् । जति नै ज्ञान हासिल गरे पनि जति नै मिहेनत गरे पनि महिलाको सक्षमतालाई सधैँ प्रश्न बाचक चिन्हले हेर्ने गरिन्छ । सामान्य घरायसी कुरा होस या समग्र देशको राजनैतिक परिप्रेक्ष्य । महिलाको क्षमतालाई प्रश्न चिन्ह लगाइन्छ ।महिलाको सफलताको कारण कुनै न कुनै रूपमा ती महिलासँग जोडिएका पुरुष नै हुन भनेर बारम्बार चिच्याइन्छ । पितृ सत्ताका पहरेदारहरू पितृ सत्तालाई चुनौती दिने महिला वा पुरुषलाई देख्न सक्दैनन् । उनीहरूको लागि श्रीमतीलाई साथ दिने श्रीमान् जोइटिङ्रे हुन्छ अनि श्रीमानलाई साथ दिने श्रीमती भने सति सावित्री । महिलालाई साथ दिने पुरुषलाई समाजले हेप्छ , महिलाको भावना बुझ्ने पुरुषलाई कमजोर दिलको चुरा पोते लाइदिनुपर्ने खालको रहेछ भन्दिन्छ । पितृ सत्ताका पहरेदारहरूले पुरुषहरूलाई दिल खोलेर रुन पनि दिदैनन् ।
यी र यस्तै विभिन्न कुराहरुको विरुद्ध लड्नु छ । आवाज उठाउनु छ । जहाँजस्तो अवस्थामा भए पनि लडाइँ लड्नु छ । पितृसत्तात्मक खम्बा ढाल्नु छ । चुनौती दिनु छ यो समाजलाई, आफ्नो निर्णयको मालिक आफैँ बन्नु छ । हरेक कुरामा पितृ सत्ताका पहरेदारहरुलाई खुसी पारेर, चिप्लो घसेर हैन , चुनौती दिएर अगाडि बढ्नु छ । हामी नारीहरुको सङ्घर्ष जारी छ । हामी माथी प्रश्नका साङ्लो बाध्नेहरुलाई शंकाको दृस्टकोणले हेर्नेहरुको आँखाको पट्टि खोलिदिनु छ । हाम्रो सक्षमतामा प्रश्न चिन्ह बर्साउनेलाई आफ्नै उन्नतिको भालाले रोप्नु छ । खुट्टा तान्नेहरूलाई हात मिलाएर अगाडि बढ्ने बनाउनु छ । चिप्लो घस्नेहरूलाई र त्यस्तै चिप्लो घसाइको अपेक्षा गर्नेहरुलाई अलिअलि खस्रा कुरा पनि मिठा हुन्छन् भनेर सिकाउनु छ । धेरै गर्नु छ, अवसरलाई निमोठिदिनेहरुलाई चुनौती दिएर आफ्नै अवसर सिर्जना गर्नु छ । आखिर यी फुच्ची नारीवादीहरू पनि कम छैनन् भनेर पितृसत्ताका पहरेदारहरूलाई स्वीकार गराउनु छ ।