नानी ! जे देख्यो त्यही किनिहाल्नुपर्छ है? अनावश्यक खर्च किन गर्नुपर्यो?
ह्या आमा! अनावश्यक हैन के यो । कहिले काहीँ काम लागिहाल्छ नि ।
मलाई सिकाउनु पर्दैन । अर्थशास्त्र मैले नि पढ्या छु ।
अब यो भन्दा अगाडि केही बोल्नु उचित हुंदैन। एकदिन मात्र हैन ।प्राय यो संवाद घरमा आइराख्छ । चाहे बजारबाट किनेर ल्याएको सामानमा होस्अथवा साग पखालेको पानी फूलमा हाल्ने बेलामा होस। सिमित स्रोत साधनलाई कसरी असिमित आवश्यकता पूरा गर्ने भनेर बेला बेलामा आमा सिकाइरहनुहुन्छ ।
अर्थशास्त्र को पहिलो नियम यहि हो । हामीले MBA को अर्थशास्त्रको पहिलो कक्षामा पढेको पाठ पनि त्यही थियो ।
मेरी आमा अर्थशास्त्री हैन । पढाइमा रुची भएकी सामान्य गृहिणी हुनुहुन्छ । अर्थशास्त्र उहाले आइएमा पढ्नुभएको रे । त्यसबेला अहिलेको जस्तो ११-१२ थिएन । त्यतिमै सिमित मामुको औपचारिक पढाइ भएपनी उहाले सधैं सम्झाउने डायलग चै त्यही हो ।
अर्थशास्त्र , पढ्दा अफ्ट्यारो लाग्थ्यो । कहिल्यै नबुझिने नियम र theory हरु हेर्दा दिमाग नै रनन हुन्थ्यो । दैनिक जिवनमा भोगेका कुरा हरु देखि लिएर देशको आर्थिक राज्नैतिक परिस्थिती बुझाउन मद्दत गर्ने अर्थशास्त्रको पढाइ , एउटा बोझ लाग्थ्यो । कहिलेकाही एडम स्मिथ , मार्शलहरु नजन्मेको भए कति आनन्द हुने थियो है भनेर साथीहरुसँग पनि छलफल गर्थ्यौं ।
अर्थशास्त्र त्यतिबेला सामान्य लाग्यो जव दैनिक जिवनमा प्रयोग गरिरहेको कुराहरुसँग जोडेर यसलाई हेरिन थाल्यो ।
बाल्यकालमा मामुले केही सामान किन्न नजिकैको पसल पठाउँदा फिर्ता आएका सिक्का खुत्रुकेमा राख्न लगाउनु हुन्थ्यो । बानी नै भएको थियो । त्यो पनि अर्थसास्त्र रहेछ ।
अर्थशास्त्र त हाम्रो नशा नशामा रहेछ । हामीले लोभ लालच वा जुगाढ जे जे नाम दिएर भए पनि अपनाएका मितबयिता नै अर्थशास्त्र रहेछ।
आमाले सिकाएको अर्थशास्त्रलाई आमाको लोभ भन्दै रिसाएको , बजार जाँदा आमाले सामान किन्दा दलाली गर्दा आफ्नो मुख रातो भएको भखरै जस्तो लाग्छ तर थाह नपाइ आफैं त्यही अवस्थामा आइपुगिएछ । पुस्तकका ठेली हरुमा पाइने negotiation र optimum utilization त आमाले दैनिक जिवनमा लागू गर्नुहुँदो रहेछ ।
मेरी आमा मात्र हैन सबैकी आमा यस्तै नै हुनुहुन्छ होला सायद । उहाँहरुले प्रयोग गर्ने विधि कुनै अर्थशास्त्री भन्दा कम छैन जस्तो लाग्छ ।
दैनिक जिवनमा त आमाहरु अर्थशास्त्री हुनुहुँदो रहेछ तर किताबका ठेलीहरुमा अर्थशास्त्री बा हरुको रामराज्य छ । मैले अर्थशास्त्री आमाहरु सम्झिन खोजें । अंह सकिन । अर्थसाश्त्री बाहरुको नाम सजिलै आयो। बाहरुले प्रतिपादन गरेका सिधाान्तहरु सहितको व्याख्या पनि आयो । तर अर्थशास्त्री आमाहरु मैले चिनेकै रहेनछु । चिन्नु पनि कसरी ! सबै पुस्तकका ठेलीहरुमा बाहरुकै नाम हुन्छ । बा हजुरबाहरुले नै प्रतिपादन गरेका वाक्यहरु रिठ्ठो नबिराइ रट्नुपर्छ ।
आमाहरुको सिदान्त त घरमा,भान्सामा , पकाउने पकवानमा , लगाउने लुगामा चल्छ, अनि बाहरुको चै पुस्तकमा । बाहरुको पुस्तकमा भेटिने law of diminishing marginal utility आमाहरुको भान्सामा आइपुग्दा “चिनी पनि धेर खायो भने तितो हुन्छ ” बन्छ । कति सरल भाषामा बुझिन्छ नि है ! आमाहरुको अर्थशास्त्र ।
किनकी आमाहरु सिद्धान्त बनाउँदैनन तर जीवन ज्युँछन । बाहरुकै सिद्धान्त रमाउन खोज्छन्। म खोज्दै छु त्यस्तो दिन जहाँ आमाहरुपनी सिद्दान्त बनाउन । अर्थसास्त्री आमाहरुको नाम अर्थसास्त्र पढ्ने छोराछोरीले रट्नेछन त्यहि बिषयमा लेख्नेछन पढ्नेछन अनि अनुसन्धान गर्नेछन्।