चुनाव रन्को समिएको छैन । अझै नयाँ नेतृत्व, विकल्पसहितको नेतृत्व, युवा नेतृत्वजस्ता विभिन्न शब्दावली जताततै सुनिन्छ । एकथरीले युवालाई अराजक र अपरिपक्व जमात भनेर उपहास गर्ने प्रयास गरिरहेका छन् भने अर्को पक्ष युवामा भएको ऊर्जा र नयाँपनले देशलाई निकास दिन सक्छ भन्ने आशयका दृष्टान्त प्रस्तुत गर्दैछन् । चुनावी परिणाम  नियाल्दा जनता अब राम्रो र सक्षम उमेदवारलाई रोज्न तत्पर हुन लागेका छन् भन्ने बुझ्न सकिन्छ । 
युवा परिवर्तनका सम्वाहक हुन् । यसैले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा युवाले राजनीतिमा चासो राख्नै पर्छ । युवाले राजनीतिक पार्टीको झन्डा बोकेर जिन्दाबाद र मुर्दाबादको नारा लगाउँदै राजनीतिक मैदानमा होमिनै पर्छ भन्ने चाहिँ हैन तर अप्रत्यक्षरूपमा भए पनि देशको राजनीति, अर्थव्यवस्था कता गइरहेको छ, देश चलाउने प्रक्रियामा के भइरहेको छ भन्ने विषयमा केही आधारभूत जानकारी राख्नै पर्छ । राजनीतिमै प्रत्यक्षरूपमा संलग्न भएर देश जनता र समाजको सेवा गर्ने उत्कट भावनाका साथ राजनीतिक यात्रा सुरु गर्ने हो भने पक्कै पनि पूर्वतयारी अपरिहार्य छ । 
राजनीति युद्धभूमि जस्तै हो । राजनीतिमा आउन चाहने, देशको लागि केही गर्छु भन्नेसँग आफ्नो जीवन त्यसमै समर्पण गर्नसक्ने आँट हुनुपर्छ । त्यसको लागि आफ्नो जीवन नै आहुति दिनु किन नपरोस् । हारिन्छ भनेर युद्ध कसैले गर्दैन । जित्नैका लागि युद्ध गरिन्छ । त्यसैले जित्नको लागि आफू पूर्णरूपले तयार हुनुपर्छ । युद्धमा विभिन्न अस्त्र प्रयोग गरिन्छ । त्यसका लागि पनि पूर्वतयारी चाहिन्छ । राजनीतिमा आउन चाहने सबैले पूर्वतयारी गर्नै पर्छ । नत्र, आफ्नो जीवन त खेर जान्छ जान्छ देश, जनता, समाज र परिवारका लागि देखिएका सुनौलो भविष्यका सपना पनि तुहिन पुग्छन् ।

के कस्ता तयारीका साथ राजनीतिक मैदानमा ओर्लिँदा उचित होला?
शिक्षा (अध्ययन): हुन त राजनितिक नेतृत्वलाई औपचारिक शिक्षाको जरुरी पर्दैन भनिन्छ तर राजनीति गर्छु भन्ने व्यक्ति अध्ययनशील भने हुनु जरुरी हुन्छ । विश्वव्यापीकरणको यस युगमा कहाँ के भइरहेको छ? विकसित मुलुकहरू कता गइरहेका छन् ? हामी कता गइरहेका छौँ ? भन्ने ज्ञान बटुल्न जरुरी हुन्छ । आज इन्टरनेटले अध्ययनको दायरा फराकिलो बनाएको छ । हामीले चाहेको सूचना, तथ्यांक सजिलै भेट्न सक्छौँ । अहिलेको समयमा राजनीतिमा आउन चाहने युवाले शिक्षालाई आफ्नो अस्त्रको रूपमा प्रयोग गर्नुपर्छ, फोस्रो कुरा गरेर, राजनीतिक भविष्य बनाउन सकिँदैन ।
अनुभव: “अनुभव” एकदमै विवादित शब्द, अझ भन्नुपर्दा युवालाई त तनावै दिने शब्द । तर तीतो यथार्थ अनुभवबिना कहीँ कतै केही पाइँदैन । अझ राजनीतिमा आउन चाहनेले त अनुभव बटुल्नै पर्छ । यसो भन्दा प्रतिवादमा एउटा तर्क आउँछ : काम गर्ने अवसर नै नदिईकन कसरी अनुभव बटुल्ने ? तर, अवसर त आफैँले निर्माण गर्न सकिन्छ नि !  राजनीतिमा आउनलाई राजनीतिक अनुभवमात्र नभएर अन्य कामको अनुभव, जीवनमा के काम गरेर के हासिल गरियो वा हार खाइयो ? यिनै विभिन्न अनुभवले राजनीतिक भविष्य अगाडि बढाउन सजिलो हुन्छ । सानो नै किन नहोस् केही कामको अनुभवले धेरै कुरा बुझाउन सक्छ । अनुभव बढाउँदै लैजाने विषय हो । यो सत्य सबै युवाले मान्नै पर्छ । एकैपल्ट प्रधानमन्त्री कोही पनि हुँदैन । अनुभवसँगै नेतृत्व क्षमता पनि बढ्दै जाने हो ।

सामाजिक संलग्नता: राजनीतिमा त्यही व्यक्ति सफल हुन्छ जसले समाज बुझेको छ । विभिन्न सामाजिक कार्यमा संलग्नता राजनीतिक व्यक्तित्व निर्माणको आधार हो । राजनीतिक नेतृत्वमा स्वयंसेवी भावना हुनु जरुरी हुन्छ ।  राजनीति पनि स्वयंसेवा नै त हो ।
नेतृत्व क्षमता : राजनीतिमा आउन चाहने युवामा नेतृत्वमा क्षमता हुनै पर्छ । उसले सानो नै किन नहोस् आफ्नो नेतृत्वको प्रदर्शन गरेको हुनुपर्छ । उसमा अरूलाई नेतृत्व गरेर अगाडि बढाउने क्षमता हुनुपर्छ । नेतृत्वमा भएको व्यक्ति हुकुम दिने राजा हैन सबैको कुरा सुनेर सही निर्णय गर्ने नेता हुनुपर्छ ।
स्पष्टरुपमा आफ्नो धारणा राख्ने कला (लेखन आदिबाट) : राजनीति भन्नेबित्तिकै राजनीतिक विचार, मान्यता आदिको विषय आउँछ । नेतामा समसामयिक राजनीतिक परिवेश बुझेर आफ्नो धारणा राख्न सक्ने कला चाहिन्छ । आफ्ना विचार लेखेर प्रकाशित गर्नुपर्छ । यसले गर्दा आफूलाई अरूबीच चिनाउन सजिलो हुन्छ । आफ्नो पनि विश्लेषण गर्ने क्षमता बढ्छ र राजनीतिक जीवनमा आइपरेका विभिन्न घटना परिघटनालाई राम्रोसँग नियालेर निचोड निकाल्न सकिन्छ  ।
स्पष्ट वक्ता: राजनीतिक नेता वा व्यक्ति भन्नेबित्तिकै हामी भाषणनै सम्झन्छौँ । नेतृत्वकर्तामा जनता सामु, जनताकै भिडलाई  सम्बोधन गर्ने वक्तृत्व कला हुनुपर्छ । आफूले बोलेको कुरा सबैले बुझ्ने गरी स्पष्टरूपमा राख्नसक्ने हुनुपर्छ ।
आर्थिक र सामाजिक दक्षता : राजनीतिमा आउन चाहनेले आर्थिक सामाजिक दक्षता पनि हासिल गर्नुपर्छ । आखिर राजनीति र अर्थ व्यवस्था एक अर्काका परिपूरक न हुन् । राजनीति गर्न चाहनेले देशको आर्थिक अवस्था कस्तो छ ? कसरी अर्थ व्यव्यस्था चल्छ ? भन्ने जस्ता देशको समग्र आर्थिक व्यवस्थाका बारेमा बुझ्नै पर्छ । यसका साथै आफूसँग भएको स्रोत साधन कहाँ कसरी उचित प्रयोग गर्ने भनेर बुझ्नु जरुरी हुन्छ  । आफ्नो परिवारको आर्थिक अवस्थाले पनि प्रभाव पर्न सक्छ । त्यसैले आफूलाई भ्रष्ट हुन नदिन, घुसखोरी वा अन्य  भ्रष्टाचारजन्य काममा नफसाउन आर्थिक क्षमता हासिल गर्नैपर्छ  ।
सूचना सञ्चार प्रविधिमा दक्षता : अहिलेको जमाना इन्टरनेटको हो । सूचना प्रविधिको जमाना हो । राजनीति पनि त यसबाट मुक्त हुन सक्दैन । त्यसैले सूचना प्रविधिको शतप्रतिशत उपयोग गर्नलाई सूचना प्रविधि मैत्री हुनै पर्छ ।

यसका साथै, समूहमा काम गर्ने क्षमता र सामाजिक दक्षता, कोसँग कसरी व्यवहार गर्ने भन्ने ज्ञान पनि हासिल गर्नैपर्छ । यीबाहेक, आफ्नो परिवारसँग छलफल गर्नुपर्छ । राजनीतिमा परिवारको साथ भएन भने घरको न घाटको हुने अवस्था आउन सक्छ । त्यसैले परिवारको सहमतिमा युवा राजनीतिमा आउन सक्नुपर्छ । परिवारले मान्दै नमानी राजनीतिमा होमिनु हुँदैन । आफ्नो परिवारलाई प्रभावित गर्न नसक्नेले कसरी देशका करोडौं जनतालाई प्रभावित गर्न सक्ला र?
त्यसैगरी धैर्य, साहस र लगनशीलता चाहिन्छ । आज नेतृत्व गर्ने मनोकांक्षा बोकेका युवाले यी सबै विषय ध्यानमा राखेर क्षमता र दक्षता हासिल गर्दै लैजाने हो भने पक्कै पनि हामीले खोजेको जस्तो नेतृत्व पाउन सक्छौँ । अबको पुस्ता पनि तयारी नगरी राजनीतिमा आयो भने ठूलो मूल्य चुकाउनु पर्नेछ । अब जनता बुझ्ने भइसकेका छन् । 
पुराना राजनीतिक शक्तिको गढ मानिएको क्षेत्रमा नयाँ अनुहार अगाडि आइरहेका छन्  । क्षमता भएको व्यक्तिलाई जनताले हार्न दिँदैनन् । अबको पुस्ताले क्षमता हेरेर जनप्रतिनिधि चुन्छन्  र क्षमतावान् प्रतिनिधिले देशको मुहार फेर्न सक्छन् । त्यसैले विचार गरेर धैर्यपूर्वक एक पटक सोचौँ – के राजनीति मेरा लागि हो ? के म देशको भार उठाउने गहन जिम्मेवारी बहन गर्न सक्छु ? 
आफ्नो उत्तर सकारात्मक भएमात्र राजनीतिमा सक्रिय होऊँ ! 

२०७४ जेठ ४ बिहीबार १३:१८:००   बाह्रखरी.com मा प्रकाशित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

About


Hi, I’m Anusha Neupane, a passionate data analytics professional with a Master’s degree in Predictive Analytics from Curtin University. With a strong foundation in data-driven decision-making, I specialize in turning raw data into actionable insights that drive growth and efficiency.

My academic journey, coupled with practical experience, has equipped me with expertise in statistical modeling, data visualization, and predictive modeling using tools like Python, R, and Tableau. I thrive on solving complex problems and uncovering hidden patterns that inform better business decisions.

I created this website to showcase my data analytics projects, share insights, and connect with like-minded professionals. Here, you’ll find examples of my work, including real-world case studies, interactive dashboards, and detailed analytics reports.

Feel free to explore my portfolio, and don’t hesitate to reach out if you’d like to collaborate or learn more about my work.


Gallery